
काठमाडौं— गृहमन्त्री रवि लामिछानेले देशका कानूनी राज्यको प्रत्याभूत हुने गरी काम गर्न प्रहरी अधिकारीलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकबाट अपिल सार्वजनिक गर्दै उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री लामिछानेले अपराधीलाई कारबाही गर्न आदेश पर्खेर नबस्न पनि सुझाएका छन्। उनले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न पनि सुझाएका छन्। भनेका छन्, ‘तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ।’
लामिछानेले पार्टीवाला नभइ देशवाला भएर काम गर्न आग्रह गरेका छन्। फेसबुकमा देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीलाई मेरो अपिल भन्दै लेखेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!’