
काठमाडौं— उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि मिटरब्याजीपीडित बसिरहेको स्थानमा पुगेर लामिछानेले सहमति कार्यान्वय हुनेमा ढुक्क रहन आग्रह गरे।
उपप्रधानमन्त्री लामिछानेले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै ठाउँमा उभिने उल्लेख गर्दै यो सुरुआत भएको र अझै सङ्घर्ष बाँकी नै रहेको बताए। हिँडेर खुट्टा पट्पटी फुट्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको उनले बताए।
‘असमान व्यवस्था अन्त्य होस् भनेर हामीले सहमति गरेको हो,’ उपप्रधानमन्त्री लामिछानेले भने, ‘हामीले तपाईंहरुलाई दुःख दिएको र सुख दिन नसकेकामा क्षमा माग्छौँ। अब आयोगले विभिन्न उपायसहित सरकारलाई सुझाव दिन्छ। त्यही आधारमा सरकार अघि बढ्नेछ।’
सम्झौताको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइसकेको बताउँदै लामिछानेले भने, ‘सहमतिलाई कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ, अलिकति समय दिनुहोला, अन्याय पर्दा खबरदारी गर्न भने नछाड्नुहोला।’