News Griha :: न्यूजगृह
गठबन्धनमा कटिवद्ध रहन एकीकृत समाजवादीको आनाकानी
प्रधानमन्त्री प्रचण्ड (बायाँ) र माधवकुमार नेपाल (दायाँ)। फाइल तस्बिर।   

काठमाडौं— सरकारमा सहभागी भएको नेकपा एकीकृत समाजवादीले कटिवद्ध भई अगाडि बढ्न आनाकानी गरेको छ।

सोमबार सिंहदरबारमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गरे मात्रै राष्ट्रिय सभा अध्यक्ष निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा सहयोग गर्न सकिने जनाएको छ।

एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए पनि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सर्त राखेको छ। पार्टी संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले सर्त पूरा नभए गठबन्धनका उम्मेदवारलाई मतदान नगर्ने स्पष्ट पारे।

‘राष्ट्रिय सभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरूमा लिखित सहमति जनाए मात्रै सहयोग गर्छौँ। प्रधानमन्त्रीलाई भनेका केही मागको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी छैन,’ उनले भने, ‘हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौ र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुन सक्छौ तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हालिरहनु जरुरी ठानेका छैनौँ, ठान्दैनौँ। उहाँमै भर पर्छ, सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ। सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न।’    

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १८:४२
Weather Update