हतकडीसहित भागेका थुनुवा पक्रन गएका प्रहरी जवानको भीरबाट लडेर मृत्यु

काठमाडौं— दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई पक्राउ गर्न पछ्याएका एक प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी जवान सुबान चौधरीको मृत्यु भएको हो। हिरासतमा रहेका महाकाली नगरपालिका– १ का २३ वर्षीय उमेश कुँवरलाई अस्पताल लैजाने क्रममा हतकडी सहित भागेका थिए। उनलाई पक्राउ गर्न दौडिएका प्रहरी जवान चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले बताए।
हतकडी सहित भागेका कुँवरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। उनी यसअघि माघ ७ गते दुईजना प्रहरीमाथि चक्कु प्रहार गरी फरार भएका थिए। फरार रहेका उनलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका—४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १५:२०













