News Griha :: न्यूजगृह
साढे ४ करोड लागतमा ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्ने, चिरीबाबुले गरे शिलान्यास

काठमाडौं— ललितपुर महानगरपालिका चक्रपथ सडकमा लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी उक्त अपाङ्गमैत्री आकाशे पुल निर्माणकार्यको सोमबार शिलान्यास गरे।

सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो। आठ मिटरभन्दा ठूला सडकको क्षेत्राधिकार स्थानीय तहसँग नभएपनि चक्रपथको यो क्षेत्रमा अत्यधिक दुर्घटना भएकाले सडक सुरक्षालाई ध्यानमा राखेर महानगरको जोडबलमा पुल निर्माणका लागि अनुमति लिएको प्रमुख महर्जनले बताए। 

महर्जनले भने, ‘यो ठाउँमा सडक दुर्घटना हुँदा धेरैजनाको अकालमा ज्यान गएको छ, त्यसैले महानगरले यो ठाउँमा आकाशेपुल बनाउने निधो गरेका हौँ।’ 

Chiri-Babu-Maharjan-1710146291.jpg
चिरीबाबु महर्जन

संविधानले व्यवस्था गरे बमोजिम समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुसार सडक विभागसँग पुल निर्माणका लागि महानगरले अनुमति मागेको भन्दै उनले तोकिएकै समय (१२ महिना) भित्र निर्माण कार्य पूरा गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिए।

उनले पुल निर्माणमा काम गर्ने कर्मचारीको सुरक्षालाई पहिलो प्राथमिकता दिएर काम लगाउनुपर्नेमा जोड दिँदै पुल निर्माणको कार्य समयमै सक्नुपर्ने र गुणस्तरीय हुनुपर्ने बताए। उक्त पुल ललितपुर महानगरको वडा नं. १३ मा एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ।  महानगरले ठेकेदार कम्पनी लामा प्रगति-मनि बुद्ध जेभी, काभ्रेसँग ४ करोड ६८ लाख ९ हजार ५ सय ६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलले बताए। 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १४:२३
Weather Update