कुटपिटबाट युवकको मृत्यु, ५ जना पक्राउ

कैलाली— धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका– ८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो।
कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए। उनका अनुसार रानाको हत्या अभियोगमा मीनबहादुर चौधरीसहित पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मीनबहादुरकी श्रीमती २९ वर्षीया पुनम, छोरी र अन्य दुई जना छन्। मृतक राना र चौधरी दम्पती छिमेकी हुन्।
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १३:३५













