News Griha :: न्यूजगृह
लाइसेन्स प्राप्त बन्दुकबाट चलेको थियो गढीमाईमा गोली 
सांकेतिक ।

काठमाडौं— एकजनाको ज्यान जानेगरी शनिबार रौतहटको गढीमाईमा भएको गोली प्रहार घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ ।

गएराति सम्ममा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमाशंकर यादवले जानकारी दिए । पक्राउ पर्नेमा रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, बिनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादवलगायत छन् ।

गढीमाई नगरपालिका– ८ धोबिनियामा शनिबार दिउँसो बाटो विस्तार गर्ने क्रममा दुई समूहबीच भएको विवादमा गोली चल्दा ५० वर्षीय रामकुमार राय यादवसहित ५ जना घाइते भएका थिए । गोली लागेर गम्भीर घाइते यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते ४ मध्ये निरञ्जन राय यादव र प्रताप यादवलाई गोली लागेको छ ।

घाइते कपिलदेव राय यादव र अर्का एकजनाको टाउको फुटेको छ । निरञ्जन यादवको अवस्था गम्भीर छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  बाटो बिस्तार गर्ने विषयलाई लिएर स्थानीय ४७ वर्षीय श्याम राय यादव पक्ष र ७० वर्षीय रामप्रताप राय यादव पक्षबीच विवाद भएको थियो । 

प्रहरीका अनुसार १२ बोरको बन्दुकबाट गोली प्रहार भएको अनुसन्धानबाट खुलेको छ । उक्त बन्दुक लाइसेन्स प्राप्त हो । घटनामा प्रयोग भएको बन्दुकको लाइसेन्स धनगढीमाई नगरपालिकाका रामईश्वर यादवको नाममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वीरबहादुर बुढामगरले बताए ।

प्रहरीले रामईश्वर राय यादवको घरबाट १२ बोर दुई नाले बन्दुक १ थानसहित गोली १० राउन्ड र ३ वटा खोकासमेत फेला पारेको छ । गोली रामईश्वरले चलाएकी अरुले भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:४०
Weather Update