काठमाडौं— राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्।
उम्मेदवारी दर्ता पछि तपाईंलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएकै कारण यो अवसर आएको हो भन्ने प्रश्नले विगतदेखि नै आफ्नै कानै पाकेको र जवाफ दिँदा दिँदा मुख नै थाकिसकेको प्रतिक्रिया दिएका छन्।
उनले भने, ‘यो कुरामा केरो कान पाकिसक्यो। मुख थाकिसक्यो। म ०६३ सालमा जुनबेला अन्तरिम व्यवस्थापिकामा म प्रवेश गरेँ। त्यही बेलादेखि पार्टीले दिएको कुनै पनि जिम्मेवारीमा जाँदा, पार्टीको सहइन्चार्जको जिम्मेवारीमा जाँदा पनि यो खालको आरोप खेपेको छु। मलाई आरोप लगाउनेलाई आजभोलि सोध्ने गरेको छु, म २०३६ सालमै यो पार्टीमा प्रवेश गर्दा तपाईं कहाँ र के गर्दैहुनुहुन्थ्यो भनेर सोध्छु। जसलाई म पार्टीमा कसरी खटिएँ। युद्धमा कसरी होमिए भन्ने कुरा थाहै छैन। उसैले यो प्रश्न गर्दा कति न्याय संगत हुन्छ?’
जिम्मेवारी लिँदा दिँदा क्षमताका आधारमा हुनुपर्ने तर्क गर्दै उनले भने, ‘अहिले दाइभाइ भएकाले तँ हुन्न भन्ने हो भने त्यतिबेला दाइ युद्धमा हिँडेको छ भाइ हिँड्नु हुन्न भन्ने आवाज किन आएन ? त्यो बेला त केही क्षण ढिला भयो भने पनि परिवारको सदस्य बचाउनलाई भन्ने आरोप लाग्थ्यो। त्यही भएर यस्ता प्रश्नलाई म सामान्य नै लिन्छु।’