News Griha :: न्यूजगृह
राप्रपा कार्यालयमा भएको कुटपिट घटनाको छानबिन प्रहरीले गर्ने

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित आक्रमण भएको भन्दै प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको बताएका छन्। 

आइतबार बिहान पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा पार्टी कार्यालय धुम्वाराहीमा श्रेष्ठमाथि आक्रमणको घटना भएको थियो। 

घटनापछि अध्यक्ष लिङ्देनले पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएका भएको भन्दै बैठकले त्यसप्रति खेद प्रकट उल्लेख गरे। 

‘झडपको कुरा आयो, त्यो अप्रत्यासित रुपमा भयो। किन भयो भन्ने खोजी भइरहेको छ। राजनीतिक पदाधिकारीको प्रसंगभन्दा अलग भएकाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौं। बैठकले त्यसप्रति खेद प्रकट गरेको छ,’ अध्यक्ष लिङ्देनले भने, ‘पार्टी कार्यालयभित्र पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएको छ। सीसीटीभी, सञ्चारमाध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत बैठकमा निर्णय भइसकेको छ।’ 

यसअघि पार्टीको बैठकमा श्रेष्ठले पूर्वमन्त्री समेत रहेका विक्रम पाण्डेलाई भ्रष्टचारीको संज्ञा दिँदै कडारुपमा आलोचना गरेका थिए। 

श्रेष्ठले आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए। पाण्डे बाहिरिएपछि केही समयका लागि बैठक स्थगित भएको थियो। स्थगित बैठकबाट बाहिर निस्कन लाग्दा श्रेष्ठमाथि आक्रमण भएको हो।

घटनामा ठाकुरमोहनको जिउमा चोटपटक लागेको छ। उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०६:०९
Weather Update