
काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन्। आइतबार आयोजित ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघिको गठबन्धनले राजनीतिलाई एकदमै भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको बताए।
माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने उनले जिकिर गरे। ‘कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन हुँदैन,’ उनले भने। नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने समयसँगै खुल्दै जाने बताएका थापाले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टिकरण गरेको भनाइ राखे।
‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ। यसको भित्र अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला। एउटा कुरा खुसी लागेको छ। नेताहरू मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लिएर गएको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो र त्यसले थप खोक्रो बनाउँथ्यो,’ उनले भने, ‘अब कसैले पनि चुनाव भन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन। किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब नै हुन सक्दैन। यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ। राजनीतिमा भ्रष्टिकरणको बाटो लागिरहेका थियौं, यो प्रकरणले सबैलाई सन्देश दिएको छ।’
चुनावअघिको गठबन्धन गर्ने प्रवृत्तिले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाउँदै लगेको टिप्पणी उनले गरे। साना दलहरू दोकान खोलेर बस्ने र कहिले यताउता जाने आधार मिश्रित निर्वाचन प्रणाली बनेको उनको भनाइ छ। उनले भने, ‘यो कुराले हाम्रो निर्वाचन प्रणाली नै बदल्नुपर्ने कुरामा समेत लिएर जान्छ। संसद्मा सबैको समावेशी सहभागिता भएन, थरीथरीका मानिस छौं। सबैको प्रतिनिधित्व भएन त्यसकारण एउटा निर्वाचन प्रणाली बनाउनुपर्यो भनेर मिश्रित निर्वाचन प्रणाली बनाऔँ तर यो यसलाई पनि यति विकृत बनाऔँ अहिले साना दलहरू दोकान खोलेर बस्ने र च्याँखे थापे झै कहिले यता उता जाने सबै आधार निर्वाचन प्रणालीले बनाइदिएको छ।’