News Griha :: न्यूजगृह
प्रहरीलाई गृहमन्त्रीको निर्देशन— अभियुक्तको अनुहार र पार्टी होइन, प्रमाण हेर्नुहोस्

काठमाडौं— उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री रवि लामिछानेले प्रहरी सङ्गठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा, बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन प्रहरी कर्मचारीलाई निर्देशन दिए।

गृहमन्त्री लामिछानेले भने, ‘कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस। त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु।’ 

निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उनले जोड दिए। ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उनले बताए।  गृहमन्त्री लामिछानेले भने, ‘कुनै पनि घटना तथा अपराधको छानविन र अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्। अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानुनको नजरमा सबै बराबर हुनुपर्दछ ।’

rabi-police-hq-1710065910.jpg
कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा हेरेर होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्न आग्रह गर्दै त्यसबाट उब्जने चुनौतीको डटेर सामना गर्दा र सुरक्षा कवच भएर आफै उभिने उनले बताए। प्रहरी कर्मचारी चुस्त, फुर्तिलो, अनुशासित, चनाखो, दह्रो, खरो प्रहरी आफूले हेर्न चाहेको उल्लेख गर्दै उनले भने, ‘जसलाई देख्दा बदमासहरूलाई डर होस् र आम सर्वसाधारणलाई भर होस् ।’ 

गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गरे। पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढि सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उनले निर्देशन दिए।

मिटरब्याज पीडित, सहकारी पीडितहरूको समस्या ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा जनचेतना अभिवृद्धिको साथै मन, वचन र कर्मले  सेवाभावका साथ जनअपेक्षा अनुरूप काम गर्न उत्प्रेरित भई उत्कृष्ट नतिजा ल्याउन उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए।    

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १६:०४
Weather Update