
विराटनगर— दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन्। इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ।
संविधान सभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनाउन सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन्।
उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन्। भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उनले निर्वाचनका लागि वातावरण बनाइरहेको उनी निकट नेताहरूले बताएका छन्। बुबाको निधनपछि उनले अब आफू पनि राजनीतिमा आउने संकेत गर्दै बुबाको सपना साकार पार्न लागिपर्ने बताएका थिए। कानुन अध्ययन गरेका सुहाङ कानुन व्यवसायमा केही समयदेखि सक्रिय छन्।
एमाले जिल्ला कमिटीले चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी पाएको छ। उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने पार्टीले समय दिएको थियो। गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काविरुद्ध एक सय १४ मतको अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए।