
जनकपुर— नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्ने प्रवृतिले समाजमा विखण्डन बढेको भन्दै धर्मलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन्।
धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउँदै यादवले धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा मात्र हुनुपर्ने बताए।
यादवले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु पर्छ।’
ऐतिहासिक मिथिला माध्यमिक परिक्रमाको आइतबार उद्घाटन गर्दै यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्दा समाज विखण्डनतर्फ अघि बढिरहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरे।
‘धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ।’
१५ दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका हजारौं संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागीता हुने उक्त परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्ने गरिन्छ।
मिथिलाको महाकुम्भको रुपमा मानिएको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका –८ कचुरीमा रहेको मठबाट डोला निकालिएसँगै यात्राको प्रारम्भ भएको हो।
यात्राको सुरुआत प्रथम राष्ट्रपति यादव र मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवको उपस्थितिमा मिथिला बिहारीको डोला उठाएसँगै सुरु भएको छ।
यद्यपि यात्राको विधिवत सुरुवात भने सोमबार जनकपुरधामस्थित हनुमानगरबाट हुनेछ। फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ।
हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ। नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर कूल १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ।