
नवलपरासी— नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ सीतापुरमा बाढीका कारण विस्थापित भएको विद्यालय दुई दशकपछि पुनर्स्थापना भएको छ ।
सीतापुरमा रहेको जनतासिद्ध निम्न माध्यमिक विद्यालय २०५७ सालमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापित भएको थियो । उक्त विद्यालय मध्यविन्दु नगरपालिकाको पहलमा २३ वर्षपछि पुनर्स्थापना गरिएको छ ।
नारायणीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बन्न पुगेको थियो । विद्यालय विस्थापित भएको २३ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विद्यालयको उद्घाटन गरे ।
२०२६ सालमा स्थापना भएको जनतासिद्ध निमावि २०५७ सालको बाढीका कारण सीतापुरबाट विस्थापित भएपछि लुसलहरिको तत्कालीन अमर प्रावि भएको स्थानबाट सञ्चालन भएको थियो ।
एउटै परिसरबाट दुई वटा विद्यालय सञ्चालन भएको केही वर्षपछि दुई विद्यालय गाभिएर जनतासिद्ध अमर माध्यामिक विद्यालय बनेको थियो । त्यसबीचमा बाढी र डुबानका कारण विस्थापित भएका स्थानीयवासी क्रमशः बस्ती फर्किए पनि गाउँबाट विस्थापित विद्यालय भने फर्किएन ।
विद्यालय विस्थापित भएपछि सीतापुर नन्दपुर सेहरीका विद्यार्थीले अहिले अध्ययनका लागि अन्य क्षेत्र जानुपर्ने बाध्यता छ । विद्यालय स्थापनापछि गुणस्तरीय शिक्षाका लागि अन्य क्षेत्र पुग्नुपर्ने बाध्यता हट्ने विश्वास अभिभावकको छ ।
विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचनासमेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगरप्रमुख अधिकारीले बताए ।
विद्यालय स्थापना तयारी समितका संयोजक श्यामनारायण महतोका अनुसार विद्यालय विस्थापित हुनु पहिले पाँच सय ६० विद्यार्थी यहीँ पढ्थे । विद्यालय लुसलहरि गएपछि २०२६ सालमा खुलेको विद्यालयको इतिहास पनि हरायो ।
विद्यालयका पूर्वशिक्षकसमेत रहेका महतोले पूर्ववत् अवस्थामा विद्यालय सञ्चालन गर्न तत्काल सम्भव नभए पनि क्रमशः सबै विद्यार्थी र अभिभावकको रोजाइ बनाउन सबै समुदाय एकबद्ध भएको बताए ।













