
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन्। गत सोमबार कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन्।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी लगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताएका छन्। दाहालले संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको जानकारी दिएका थिए। दाहालले दलको बैठकमा भनेका थिए, 'सरकारले विश्वासको मत लिने कार्यका लागि सबै सक्रियतापूर्वक लागौं।'
माओवादीका एक सांसदका अनुसार फागुन ३० मा सांसदहरूलाई ह्वीप लगाउने विषयमा संसदीय दलमा छलफल भएको छ।
सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् ।
यसबीचमा सत्तारूढ गठबन्धनको प्रमुख घटक एमालेले अन्य राजनीतिक दलहरूलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ भने प्रधानमन्त्रीले पनि सरकार अन्य दलहरूलाई सहभागी गराउन छलफल गरिरहेका छन्।