News Griha :: न्यूजगृह
भाइलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने दाउमा प्रचण्ड

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने तयारीमा रहेको बुझिएको छ। सत्ता गठबन्धनको नयाँ छयाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमालेसहितका दलहरूलाई सहमत गराएको माओवादी केन्द्र सम्बद्ध समाचार सूत्रले बताएको छ।

प्रधानमन्त्री दाहालले चितवनका नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने योजना बनाएको माओवादी निकट विश्वस्त सूत्रले बताएको छ। नारायणप्रसाद दाहाल यसअघि रामनारायण बिडारीको अवकाशपछि रिक्त भएको स्थानमा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए।

चितवन निवासी दाहाललाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन्। राष्ट्रिय सभालाई विज्ञहरूको सभा भनिएपनि दलहरूले आफ्नो नजिकका व्यक्तिलाई अवसर दिने वैकल्पिक थलोको रुपमा विकास गर्दै आएका छन्।

सांसद दाहाल प्रधानमन्त्रीका सहोदर भाइ नभए पनि उनका घनिष्ठ सहयोगी मानिन्छन्। विगतमा पनि विज्ञका रुपमा आफूसँग नजिक राखेर प्रधानमन्त्रीले नारायणलाई सत्ता बाहिर रहन दिएका थिएनन्। यसपटक भने उनलाई संसद्को माथिल्लो सदनको नेतृत्वमा स्थापित गरेर संवैधानिक परिषदमा आफूलाई सहज स्थिति बनाउने उद्देश्य प्रधानमन्त्रीको रहेको बताइएको छ।

सांसद दाहालले आफू छ वर्षे अवधिको सांसद भएको बताउँदै अब चार वर्ष कार्यकाल बाँकी नै रहेको बताए। राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान रहेको छ । तीमध्ये एक स्थान अहिले खाली रहेको छ। नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मनोनित गर्ने प्रावधान छ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १६:४८
Weather Update