News Griha :: न्यूजगृह
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्री थपिए

काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक जना विना विभागीयसहित ३ मन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन्। प्रदेश सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई समेट्दै मुख्यमन्त्री शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। त्यस्तै खुशीराम डगौरा थारुलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। 

शुक्रबारै प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। यसअघि नाउपाबाटै राज्यमन्त्री रहेका कैलाश चौधरीलाई भने फिर्ता बोलाइएको छ। 

भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा शिवराज भट्ट, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरीले जिम्मेवारीमा छन्। बाँकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफूसँगै राखेका छन्। मुख्यमन्त्री शाहले मन्त्री मण्डल विस्तार गरेको यो चौथो पटक हो।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २१:४४
Weather Update