News Griha :: न्यूजगृह
चार पटकको उपाधि विजेता आर्मीलाई हराउँदै एपीएफ झापा गोल्डकपको फाइनलमा

झापा झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

बिर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपीएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो।

एपीएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो। फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए। खेलको ४२औं मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपीएफका अनिश महर्जनले गोल गर्न सकेनन्। खेलको ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो। खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो।

खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए। शनिबार चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल यही फागुन २८ गते हुनेछ। प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित नेपालका १० टोलीको सहभागिता छ।  

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २०:२६
Weather Update