
काठमाडौं— नेपाली सेनाले आज २६१ औँ वार्षिकोत्सव मनाउँदै छ। विविध सैनिक कला, सांस्कृतिक एवम् सांगीतिक प्रस्तुतिका साथ सेनाले देशभर दिवस मनाउँदै छ।
काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले गर्ने कार्यक्रममा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी हुँदैछन् ।
सैनिक मञ्चमा परेड, तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रमहरू समेत गर्ने तयारी छ । यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति समेत छ ।
जंगीअड्डा मातहत रहेका पृतना, बाहिनी, गण र गुल्ममा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाउने कार्यक्रम रहेको छ ।
नेपालमा सेनाको सांगठनिक अभ्यास १८१९ सालदेखि सुरुवात भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्दै आएको छ ।













