News Griha :: न्यूजगृह
वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने तीन पक्राउ

काठमाडौं— वैदेशिक रोजगारीमा पठाएर राम्रो आम्दानी दिलाउने प्रलोभनमा पारी ठगी गरेको आरोपका छुट्टाछुट्टै घटनामा प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काडमाडौंको टोखा बस्ने म्याग्दीको बेनी–४ का ३८ वर्षीय सुनिल शाही, टोखा बस्ने नवलपारसीको कावासोती–१७ की सुशीला राई र ललितपुरको भैँसेपाटी बस्ने मोरङको उर्लाबारी–९ की ३४ वर्षीया लक्ष्मी लिम्बू छन्। शाहीले सुनबहादुर गोलेलाई मासिक ७० हजार आम्दानी हुने माल्दिभ्समा सवारीचालकको काम लगाइदिन्छु भन्दै पटकपटक गरेर ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

उजुरी परेपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। यस्तै लिम्बुमाथि रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीका लागि यूके पठाइदिन्छु भनेर ठगी गरेको आरोप छ।

उनले केयरगिभरको कामका लागि प्रतिव्यक्ति २३ लाख रुपैयाँ लाग्छ, मासिक ४ लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाएर पीडितहरुबाट पटक पटक गरी २९ लाख ८८ हजार रुपैयाँ लिइ सम्पर्कविहीन जाहेरी आएको थियो। लिम्बुलाई ललितपुरको भैँसेपाटीबाट पक्राउ गरिएको हो । 

यस्तै दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा राई पक्राउ परेकी हुन्। उनले भीमबहादुर सिंहसमेत २ जनालाई दुबईमा मासिक एक लाख तलब हुने जागिर लगाइदिने प्रलोभनमा पारेकी थिइन।

त्यसका लागि पटक पटक गरी ५ लाख ७५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको जाहेरी आएपछि टोखाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। तीनै जनालाई प्रहरीले थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १९:१०
Weather Update