News Griha :: न्यूजगृह
निर्वाचन आयोगले रेशम चौधरीलाई स्वीकार गरेन नागरिक उन्मुक्तिको अध्यक्ष

काठमाडौं– निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रुपमा मान्यता दिन अस्वीकृत गरेको छ। आयोगले चौधरी राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य रहेको ठहर गर्दै पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अध्यक्षमा नाम अध्यावधिक गर्न भनेर दिएको निवेदन अस्वीकृत भएको जानकारी दिए। ‘राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलको अध्यक्ष बन्न उहाँको योग्यता पुगेन। त्यसकारण उहाँलाई अध्यक्षको रुपमा अध्यावधिक भएन,’ पौडेलले न्यूजगृहसँग भने। 

निर्वाचन आयोगको बिहीबारको बैठकले चौधरीलाई अध्यक्ष चयन गरेको नाउपाको अधिवेशनलाई समेत अवैधानिक ठहर गरेको छ।

चौधरी गत पुस अन्तिम साता भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट सर्वसम्मत रुपमा पार्टीको अध्यक्ष निर्वाचित भएका थिए। रेशम अध्यक्ष चयन हुनु अगाडि उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नाउपाको अध्यक्ष थिइन्। निर्वाचन आयोगले रेशमलाई अध्यक्षको रुपमा अस्वीकार गरेपछि रञ्जिताले अध्यक्षको रुपमा काम गर्न पाउने भएकी छन्। 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:१८
Weather Update