-1709712166.jpg)
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको सबै समस्या अबको केही समयभित्रै समाधान हुने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा फागुन ६ देखि १८ गतेसम्मका अघिल्ला बैठकहरूमा सांसदहरुले सरकारको कामकारबाहीको सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताए।
मिटरब्याज पीडितको समस्या समाधान गर्ने क्रममा सरकारका काम कारबाही प्रति उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘फागुन १६ गतेसम्म २ हजार ९ सय ८४ वटा उजुरी आपसी मेलमिलापबाट फछर्यौट भएका छन्। मेलमिलापबाट फछर्यौट गराउन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने अहिलेको प्रयासबाट अबको केही समयमै सबै उजुरी फछर्यौट भैसक्ने विश्वास सरकारको छ।’
साथै उनले २३ दिन हिँडेर न्याय माग्दै काठमाडौंको भृकुटीमण्डपमा बसिरहेका मिटरब्याज पीडितको समस्या समाधान गर्न संघर्षरत पक्षसँग वार्ता भइरहेको उल्लेख गर्दै छिट्टै तार्किक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। ‘मिटरब्याजका लेनदेनलाई एकमुष्ट रुपमा बदर गर्नुपर्ने मागसहित अहिले आन्दोलनमा रहेका नागरिक समुहसँग संवाद र समस्या समाधान गर्नका लागि गृह मन्त्रालयको सह सचिवको संयोजकत्वमा वार्ता टोली गठन भएको छ। संघर्षरत पक्षसँग अहिले भइरहेको वार्ता छिट्टै तार्किक निष्कर्षमा पुग्ने विश्वास मेरो छ,’ दाहालले भने।













