News Griha :: न्यूजगृह
गठबन्धन भत्काउनु प्रचण्डको राजनीतिक बेइमानी: कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ। 

आजको संसदीय दलको बैठकले गठबन्धनप्रति कांग्रेस इमान्दार र प्रतिबद्ध रहँदारहँदै गठबन्धनकै तर्फबाट सरकारको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो। 

बैठकमा भएको छलफलबारे जानकारी दिँदै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘गठबन्धन प्रति नेपाली कांग्रेसले सँधै इमान्दार रह्‍यो। सहमतिमा प्रतिवद्ध रह्‍यौँ। तर पछिल्लो समय गठबन्धनकै तर्फबाट सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्रीले विश्वासघात गर्दै गठबन्धन भत्काउनु भयो। गठबन्धनबारे उहाँले भन्नुभएका कारण अत्यन्त काल्पनिक, कपोकल्पित तथा तथाकथित मानेका छौँ। र यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा ठहर गरेका छौँ।’

ठबन्धन भत्काएर प्रचण्डले मुलुकलाई थप अस्थिरता र अन्यौलतामा पुर्‍याएको आरोप कांग्रेसले लगाएको छ। ‘हामीले नेपालको संविधानको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन, मुलुकमा दिगो शान्ति, सुशासन र स्थिरताका लागि गठबन्धन गरेका थियौँ। तर अहिले प्रचण्डले त्यो सहमति बिर्सँदै मुलुकलाई अस्थिरतामा लैजाने काम गर्नुभयो,’ लेखकले भने।

प्रधानमन्त्रीको राजनीतिक बेइमानीलाई मनन गर्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। ‘नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले गर्नुभएको विश्वासघात र राजनीतिक बेइमानीलगायतका कुरालाई मनन गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ। अब नेपाली कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिकामा रहन्छ।’ 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:५०
Weather Update