
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आजलाई पनि बोलाइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धन बनाउन सुरुवातमै साथ दिएका अध्यक्ष उपेन्द्र यादवले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने बेला भने मन्त्रीहरूको नामावली दिएनन्। बुधबारसम्म २० सदस्यीय मन्त्रिपरिषद् बन्दा जसपाले मन्त्रीहरू पठाएको छैन।
जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी हुने र मन्त्रीहरूको चयन गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । प्रवक्ता मनिष सुमनका अनुसार बैठक बिहीबार बिहान ८ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको छ।
वर्तमान सरकारमा जसपाले दुई वटा मन्त्रालय पाउने देखिएको छ। प्रधामन्त्री दाहालले जसपाका लागि भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका छन्। जसपाका नेताहरुका अनुसार यसपटक अध्यक्ष उपेन्द्र यादव आफैँ उपप्रधानसहित स्वास्थ्य मन्त्री बनेर सरकारमा सहभागी हुने तयारीमा छन्।
प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्। यसअघिको गठबन्धन सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री थिए।













