News Griha :: न्यूजगृह
संघीय संसदको दुवै सदन आज, छलफलका विषय के—के ?

काठमाडौं— संघीय संसद्का दुवै सदनको बैठक आजलाई बोलाइएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजलाई आवह्वान गरेको हो।
 
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधि सभा र दिउँसो १ बजेर १७ मिनेटमा बस्नेगरी राष्ट्रिय सभाको बैठक डाकिएको संसद सचिवालयले जनाएको छ। 

पछिल्लो राजनीतिक घटनाक्रम र गठबन्धन परिवर्तनमा भएको दलका नेताको दौडधुपले यसअघि फागुन २१ गते बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। 

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नयाँ मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने कार्यतालिका छ। साथै महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची पनि उल्लेख छ।
 
राष्ट्रियसभाको बैठकमा पनि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्षको पदपूर्ति भइनसकेकाले आजको सदन पनि उपाध्यक्ष उर्मिला अर्यालले सञ्चालन गर्नेछिन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची छ।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने २१ गतेको सम्भावित कार्यसूचीलाई पनि दोहोर्‍याइएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०७:१९
Weather Update