
काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ गठबन्धनसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यङ्ग्यात्मक सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, ‘लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ १० बल्ड्याङ नहोस्!’
प्रधानमन्त्री प्रचण्डले अनुहारको धुलो पुछ्नुको साटो पटक पटक ऐना साफ गर्ने गरेको व्यङ्ग्य गर्दै भट्टराईले आफ्नो नीति तथा कार्यक्रम र आधारभूत सोच नै परिवर्तन गर्न पनि सुझाएका छन्।
भट्टराईले भनेका छन्, ‘'धूल चेहरे पर थी और मैं आइना साफ करता रहा!' गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ। तर आफ्नो आधारभूत सोच, नीति कार्यक्रम, प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न। उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ- म बाँचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे!’
भट्टराईले उथलपुथल कस्तो भनेर पनि प्रश्न गरेका छन्। उनले सोधेका छन्, ‘अग्रगामी कि पश्चगामी उथलपुथल? परिणामविहीन अस्थिरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो?’
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन छाडेर प्रचण्ड कुर्सी मोहमा फसेको आरोप बाबुरामको छ। उनले प्रचण्डलाई सोधेका छन्, ‘जनयुद्धका सर्वोच्च कमाण्डरले पटपटक प्रम हुँदा शान्तिप्रकृयाका पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन ? शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसँग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसँग कहिले कोसँग टाँसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ ?’
प्रचण्डलाई देशको सार्वभौमिकता, स्वाधीनताको रक्षाका लागि संयम हुन पनि बाबुरामले सुझाएका छन्। उनी लेख्छन्, ‘संवेदनशील भूराजनीतिक द्वन्द्व बढ्दै गइरहेको बेला मूलतः तीन प्रमुख बाह्य शक्तिबीच सन्तुलन मिलाउनुको सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसँग कहिले अर्कोसँग टाँसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकता/स्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ ? लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ दश बल्ड्याङ नहोस्!’