News Griha :: न्यूजगृह
१५ महिनामा तेस्रो पटक गठबन्धन फेरेपछि यस्तो बन्यो प्रचण्ड टिम

काठमाडौं— नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। २ वटा बाहेक सबै मन्त्रालयमा मन्त्री नियुक्त गर्दा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ। 

प्रधानमन्त्री प्रचण्डले बुधबार नेकपा एमालेबाट ७, नेकपा माओवादी केन्द्रबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ जना र एकीकृत समाजवादीबाट २ जना मन्त्री नियुक्त गरे। एमाले, माओवादी र रास्वपाबाट यसअघि नै १–१ जना मन्त्री नियुक्त भइसकेका थिए। 

Prabhu Bank

प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री नियुक्त भएका छन्। यस्तै, वर्षमान पुन अर्थमन्त्री, शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन्। 

नेकपा एमालेबाट सचिव रघुवीर महासेठले सरकारमा नेतृत्व गरेका छन्। उनी उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन्। एमालेबाट पदम गिरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, हरि उप्रेती रक्षामन्त्री, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री, राजेन्द्र राई खानेपानीमन्त्री, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त भएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन्। यस्तै, डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री,  विराज भक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन्। 

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री नियुक्त भएका छन्। एकीकृत समाजवादीबाट नेता भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र धनबहादुर बुढा शहरी विकासमन्त्री बनेका छन्।

१५ महिनामा तेस्रो पटक गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डलाई हालसम्म एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन मिलेको छ। भागबण्डाअनुसार २ वटा मन्त्रालय पाएको जनता समाजवादी पार्टीले मन्त्रीको भने टुंगो लगाइसकेको छैन। जसपाले पाएको वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री प्रचण्डले हाल आफैंसँग राखेका छन्। 

प्रधानमन्त्री प्रचण्डलाई एमालेका (सभामुख बाहेक) ७७, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टीका १२ र एकीकृत समाजवादीका १० गरी १५२ जना सांसदको समर्थन प्राप्त हुने देखिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २२:५१
Weather Update