News Griha :: न्यूजगृह
हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेले दिए मातहतलाई निर्देशन

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुनी राज्य स्थापना गर्न कसैको आदेश नकुर्न निर्देशन दिएका छन्। दोस्रो पटक गृह मन्त्रालयको कार्यभार सम्हालेपछि लामिछानेले भने, ‘कानुनी राज्यको स्थापनामा निर्वाह गर्दा कसैको आदेश कुर्नुपर्दैन। कुनै पनि राजनीतिक दल प्रभावशाली होस्, गैरकानुनी आदेश मान्नु पर्दैन । कानुनले जे भन्छ त्यही हुन्छ।’ 

उनले दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी, प्रशासनलाई निर्देशन गरे। ‘मेरो सुरक्षामा चिन्तित हैन। मान्छे व्यवसायमा बढी चिन्तित हौ भन्ने चाहन्छु । गैरकानुनी गतिविधिलाई सामान्य ढंगले होइन, असामान्य ढंगले नियन्त्रण र निगरानी गर्ने जिम्मेवारी हाम्रो सामु छ,’ उनको भनाइ थियो, ‘निराशाबाहेक केही छैन भन्ने भाष्य तयार भएको छ । यो सुरक्षाका विषय जोडिएको छ । सुरक्षा राष्ट्रिय महत्वको विषय छ ।’

उनले देशभर सरकारी जग्गा फिर्ता ल्याउन निर्देशन दिए। ‘म सरकारी हडपिएको जग्गाबाट हटाउन निर्मम आदेश दिन चाहन्छु,’ उनले भने, ‘७७ जिल्लामा सरकारी सम्पत्ति हडपिएको छ, सरकारमा नाममा ल्याउने कामनै मेरो पहिलो निर्णय हुनेछ ।’

उनले मिटरब्याजी र सहकारीपीडितलाई न्याय दिलाउन प्रतिबद्ध भएको बताए। ‘मिटरब्याज र सहकारीपीडितलाई न्यायको महसुस हुनुपर्छ । यो प्रहरीमा पुगेपछि समस्या समाधान हुने महसुस हुनै पर्छ। खुट्टामा ठेला उठ्ने गरी न्याय गृह मन्त्रालय माग्न आउने अन्त्य हुनुपर्छ।’

उनले नागरिकलाई महसुस हुने गरी काम गर्न आग्रह गरे। ‘लागूऔषध दुर्व्यसनीको समस्या हुनुपर्छ । तस्करी नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने, ‘राजस्व सङ्कलनका विषयलाई चुहावटका विषय गम्भीर विषय छन्।’  

उनले राजधानीलगायत कतिपय ठाउँ २४ घण्टा खुल्ने वातावरण बाउने बताए । ‘सुरक्षित हुने वातावरण हुनुपर्छ। सहर ज्युँदो, सुरक्षित छ भन्ने महसुस हुनुपर्छ,’ उनको भनाइ थियो ।

उनले कुनै पनि पार्टीको दबाबमा नपर्न र कानुनअनुसार कारबाही गर्न आग्रह गरे। ‘बोर्डरको सुरक्षा बलियो बनाउनुपर्छ,’ उनले भने। उनले प्रहरी प्रशासनको सरुवा, बढुवा कार्यसम्पादनका आधारमा हुने बताए।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २१:५२
Weather Update