News Griha :: न्यूजगृह
२६१ औं वार्षिकोत्सव मनाउँदै नेपाली सेना

काठमाडौं— नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ।

यस वर्षको सेना दिवस फागुन २५ गते महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउन लागिएको सेनाले जनाएको छ। सो कार्यक्रममा नेपाली सेनाका साथै बेलायत, भारत र अमेरिकी सेनाहरूको समेत साङ्गीतिक प्रस्तुति हुनेछ।

यस्तै, बुधबार प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति ब्यानर प्रतियोगिता–२०८०’ मा गणतर्फ पहिलो हुने श्रीजंग गण र गुल्मतर्फ पहिलो हुने हनुमानध्वज गुल्मलाई पुरस्कृत गरेका छन्।

नेपाली सेना स्थापनाको २६१ औं वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानसेनापति शर्माले उक्त युनिटहरूका साथै युद्धकार्य तथा पेसागत प्रतियोगितामा पहिलो हुने नं. ३ वाहिनी र दोस्रो हुने नं. ९ वाहिनी तथा पृतनास्तरको प्रतियोगितामा पहिलो हुने श्री मध्य पूर्वी पृतना र दोस्रो हुने उपत्यका पृतना पुरस्कृत भए।

सो अवसरमा प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ खड्ग दल गण र खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सिंहशार्दुल गुल्म पनि पुरस्कृत भएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १९:३७
Weather Update