News Griha :: न्यूजगृह
१७ मन्त्रालयका मन्त्रीहरुको टुंगो, कसलाई कुनको जिम्मेवारी? 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (फाइल तस्बिर)

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारका लागि मन्त्रीहरुको भागबण्डा टुंगिएको छ। प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन गरेपछि मन्त्रिपरिषद्‌ पुनर्गठन हुन लागेको हो। 

सत्तारुढ गठबन्धनका दलहरुको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको थियो। जसअनुसार सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ मन्त्रालय, नेकपा एमालेले ८ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय, जनता समाजवादी पार्टीले २ मन्त्रालय र नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति भएको छ। माओवादी, एमाले र जनता समाजवादीले एउटा–एउटा राज्यमन्त्री पाउने पनि सहमति भएको छ। 

नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री बन्ने भएका छन्। यस्तै, वर्षमान पुन अर्थमन्त्री, शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने पक्का भएको छ। 

नेकपा एमालेबाट सचिव रघुवीर महासेठले सरकारमा नेतृत्व गर्नेछन्। उनी उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नेछन्। एमालेबाट पदम गिरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, हरि उप्रेती रक्षामन्त्री, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्र राई खानेपानीमन्त्री, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्नेछन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्नेछन्। यस्तै, डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री,  विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्नेछन्। 

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले २–२ वटा मन्त्रालय पाउने पक्का भए पनि उनीहरुको मन्त्रालय भने टुंगो लागिसकेको छैन। १७ वटा मन्त्रालयहरुको भागबण्डा भइसक्दा अब वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाँकी छन्। अब जसपा र एकीकृत समाजवादीले यी ४ मध्ये २–२ मन्त्रालय पाउनेछन्। 
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:१९
Weather Update