News Griha :: न्यूजगृह
प्रचण्ड नेतृत्वको सरकारमा एमालेलाई ८ वटा मन्त्रालय, को–को बन्दैछन् मन्त्री? 

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय सम्हाल्ने भएको छ। एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन्। 

एमाले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। नेकपा एमालेका १ जना नेताका अनुसार महासेठ उपप्रधानसहित भौतिक योजना पूर्वाधार तथा यातायातमन्त्री बन्ने पक्का भएको छ। एमालेबाट पदम गिरीले यसअघि नै मन्त्रीको शपथ लिइसकेका छन्। 

एमालेबाट मन्त्री बन्ने अन्य नेतामा दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी छन्। 

महासेठ र अधिकारी बाहेक अन्य नेताहरु यसअघि (गत वर्ष) प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेका थिए। तत्कालीन अवस्थामा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो। १ वर्षपछि प्रधानमन्त्रीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहित दलहरुसँग गठबन्धन गरेका हुन्। 

गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबन्डा पनि टुंगिसकेको छ। प्रचण्ड नेतृत्वको सरकारमा एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउँदा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ मन्त्री र एउटा राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्री, जनता समाजवादी पार्टीले २ मन्त्री र एउटा राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्री पाउने सहमति भएको छ। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १५:०४
Weather Update