
काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने सहमति भएको छ। जसअनुसार माओवादीबाट मन्त्रीहरुको नाम समेत टुंगिसकेको छ।
माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरु वर्षमान पुन र शक्ति बस्नेत तथा नेता रेखा शर्मा मन्त्री बन्ने भएका हुन्। माओवादीबाट हितबहादुर तामाङले यसअघि नै मन्त्रीको शपथ लिइसकेका छन्।
माओवादीबाट मन्त्रीमा पक्का भएका वर्षमान पुन र हितबहादुर तामाङ मात्रै नयाँ हुन्। श्रेष्ठ, बस्नेत र शर्मा यसअघि नै प्रचण्ड नेतृत्वको सरकारमा थिए। माओवादीबाट श्रेष्ठ उपप्रधानसहित परराष्ट्रममन्त्री बन्ने पक्का भएको छ। यस्तै, वर्षमान पुन अर्थमन्त्री बन्नेछन्।
बस्नेत, शर्मा र तामाङको भने मन्त्रालय टुंगो लागिसकेको छैन। बस्नेत यसअघि उर्जामन्त्री थिए। यस्तै, शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री थिइन्।
गठबन्धनका दलहरुबीच बुधबार भएको सहमतिअनुसार नेकपा एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४, जनता समाजवादी पार्टीले २ मन्त्री र एउटा राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्री पाउने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।