News Griha :: न्यूजगृह
माधव नेपाललाई देउवाको प्रस्ताव– पुरानै गठबन्धनलाई सक्रिय बनाउँ 

काठमाडौं— नेपाली कांग्रेसले एकीकृत समाजवादीलाई यसअघिकै (पुरानो) गठबन्धनलाई पुनर्जीवित गर्ने प्रस्ताव गरेको छ। गणतान्त्रिक व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षाका लागि बनेको गठबन्धनको कार्यभार पूरा गर्न अझै बाँकी रहेकाले फेरि सहकार्य गरेर जान कांग्रेसले प्रस्ताव गरेको हो। 

कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए। सभापति देउवा पार्टी संसदीयद दलका प्रमुख सचेतक रमेश लेखक र पत्नी तथा पार्टी नेता आरजु राणासँगै नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। 

बुधबार बिहानको भेटमा अध्यक्ष नेपाललाई पुरानै गठबन्धनलाई निरन्तरता दिएर सहकार्यका लागि प्रस्ताव गरिएको नेता लेखकले न्युजगृहलाई जानकारी दिए। 

‘गणतान्त्रिक व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षाका लागि हामीले त्यो गठबन्धन बनाएका थियौं। हाम्रा कार्यभारहरु अझै बाँकी छन्। फेरि पनि सहकार्य गरेर जानुपर्छ भन्ने हाम्रो प्रस्ताव रह्यो,’ नेता लेखकले भने, ‘त्यसमा माधव नेपालजीले सकारात्मक जवाफ दिनुभएको छ। हाम्रो छलफल सकारात्मक भयो।’

अध्यक्ष नेपालले कांग्रेसको प्रस्तावबारे पार्टी केन्द्रीय सचिवालयको बैठकमा छलफल हुने प्रतिक्रिया कांग्रेस सभापतिलाई दिएका छन्। ‘उहाँ (नेपाल)ले पार्टीको सचिवालय बैठक बस्दैछ। त्यसमा छलफल गर्छौं भन्नुभएको छ,’ नेता लेखकले भने। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँगको सहकार्य तोडेर नेकपा एमालेसँग सहकार्य रोजेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ। मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डबाट धोका पाइएको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि देउवाले अरु पार्टीसँगको छलफललाई तीव्रता दिएका छन्। सभापति देउवा आफैं र आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरेर अरु पार्टीसँग छलफल चलाएका छन्। 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १३:२७
Weather Update