News Griha :: न्यूजगृह
चन्दा संकलन गरेर बनाइयाे म्याग्दीमा विद्यालय

म्याग्दी— म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन प्रवासी बेगखोलावासीको नेतृत्वमा पुनःनिर्माण भएको छ । पुरानो भौतिक संरचना र २०७२ सालको भूकम्पका कारण सो विद्यालय भवन जीर्ण बनेको थियो ।

विद्यालयको स्वर्ण जयन्तीका अवसर पारेर वि.सं. २०७५ देखि सुरु भएको विद्यालय भवन पुनःनिर्माण अभियानअन्तर्गत प्रवासमा रहेका बेगखोलावासीको नेतृत्वमा एक करोड ५० लाख रुपैयाँ सहयोग जुटाएर भवन नयाँ बनाइएको हो ।

देश तथा विदेशमा छरिएर रहेका बेगखोलावासी बेगखोला कल्याणकारी समाजमा गोलबद्ध बनेर विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका थिए । अभियानका क्रममा एक करोड ५० लाख रुपैयाँ सहयोग संकलन गरेर विद्यालयको सातकोठे भवन पुनःनिर्माण गरिएको भवन पुनःनिर्माण समितिका संयोजक योगकुमार फगामीले जानकारी दिए ।

‘यो अभियानमा बेगखोला बाहिरका सहयोगदाताले समेत आर्थिक सहयोग गर्नुभएको छ,कोभिडलगायतका विविध कारणले भवन कार्य निर्धारित समयमा सम्पन्न हुन सकेन, समग्रमा देश तथा विदेशमा रहेका बेगखोलावासीको एकता र सहकार्यले जीर्ण भवनबाट सुविधासम्पन्न भवन सम्भव भएको हो’,उनले भने ।

विद्यालयमा इन्द्रबहादुर, पदमबहादुर र यमकुमार पुर्जाका तीन दाजुभाइका परिवारले करिब १४ लाख रुपैयाँ लगानीमा कम्प्युटर कक्षाको लागि छुट्टै थप कोठा निर्माण गरिदिएका हुन् ।

सहयोगदाताले मन खोलेर सहयोग गरेकै कारण पुरानो र जीर्ण भवनको ठाउँमा सुविधासम्पन्न भवन निर्माण हुन सम्भव भएको पुनःनिर्माण अभियानका सचिव नगेन्द्र पुर्जा (नक्कु) ले जानकारी दिए । अभियानमा आर्थिक सहयोग गर्ने दाताको विद्यालयमा शिलालेखमा अभिलेख राखिएको छ ।

विद्यालयमा बेगखोलावासीले चन्दा संकलन गरेर निर्माण गरेको सातकोठे कक्षाकोठा भवनबाहेक पुनःनिर्माण प्राधिकरणको शिक्षा एकाइमार्फत ३४ लाख रुपैयाँ लगानीमा तीनकोठे र ६० लाख रुपैयाँ लगानीमा चारकोठे थप भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक दुतबहादुर गर्बुजाले जानकारी दिए ।

प्रवासी बेगखोलावासीको नेतृत्वमा आर्थिक संकलन गरेर र सरकारी तवरबाट समेत गरी कक्षाकोठा भवन निर्माण सम्पन्न भएपछि विद्यालयको नियमित पठनपाठनसमेत सहज भएको प्रअ गर्बुजाले बताए । यस विद्यालयले कक्षा ४ देखि नै कम्प्युटर विषयको समेत पठनपाठन गराउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  ०६:३८
Weather Update