
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ गठबन्धनका साझेदार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारको सहभागिताका विषयलाई लिएर आन्तरिक छलफलमा जुटेका छन्।
चार दलबीच भएको आठबुँदे सहमतिका हस्ताक्षरकर्तामध्येका एक यादव सरकारमा सहभागी हुने भनेपनि गठबन्धनको टुंगो नलाग्दा अन्यौलमा परेका छन्।
कुन कुन दलबीच गठबन्धन बन्ने हो भन्ने टुंगो नलागेकाले जसपाले सरकारमा सहभागी हुने नहुने भन्ने टुंग्याएको छैन। तर आन्तरिक तयारी गरेर पार्टीभित्र कसको नेतृत्वमा सरकारमा जाने र को को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको छ।
आज पनि जसपाले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टी कार्यालयमा बोलाइएको बैठकमा सहभागी हुन नेताहरू कार्यालय आउनले क्रम जारी रहेको पार्टीका प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनले भने, ‘आज पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ। बैठकमा सहभागी हुन नेताहरू आउने क्रम जारी छ। आजको बैठक सरकारमा सहभागिताको विषयमा केन्द्रित हुनेछ। गठबन्धनका बारेमा टुंगो नलागेकाले पार्टीले सरकारमा जाने कि बाहिरैबाट सघाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन। सम्भवत आजको बैठकले निर्णय गर्नेछ।’