News Griha :: न्यूजगृह
के कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री ‘अफर’ गरेको हो?

काठमाडौं—नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताएको छ।

बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सोमबार साँझ सकिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पार्टीका नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए।

केही सञ्चार माध्यमहरूले रास्वपा सभापति लामिछानेलाई कांग्रेसले प्रधानमन्त्री ‘अफर’ गरेको समाचार प्रकाशित गरेका थिए।

रास्वपा नयाँ गठबन्धनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल छ र उसले उपसभापति डीपी अर्याललाई सोमबार मन्त्रीसमेत बनाइसकेको छ।

तर गठबन्धन दलहरूभित्र कसले कुन मन्त्रालय लिने भन्ने भागबन्डा मिल्नै बाँकी छ। रास्वपाले गृह मन्त्रालयसहित चार वटा मन्त्रालयमा दाबी गरिरहेको छ। गृहमा माओवादी केन्द्रसहित नेकपा एमालेको दाबी छ। 

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गृहमन्त्रीका लागि आकांक्षी छन्। गृहमन्त्री पाए रास्वपा सभापति लामिछाने आफैँ सरकारमा सहभागी हुने सम्भावना छ।

‘गठबन्धन बैठकमा गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति नभएका खबर आएका छन्। त्यसैले उनीहरूले नै कांग्रेसले प्रधानमन्त्री अफर गरेको छ भनेर मनगढन्ते प्रचार गरेको हुनुपर्छ, कांग्रेसले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन,’ एक पदाधिकारीले भने।
अर्का पदाधिकारीले पनि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताए।

‘सरकारमै सामेल भएर मन्त्रीसमेत बनाइसकेको पार्टी सभापतिलाई कसैले प्रधानमन्त्री अफर गर्छ? फेरि कहाँबाट बहुमत जुटाइदिने हो हामीले? यो त अफवाह मात्रै हो,’ ती पदाधिकारीले भने, ‘लामिछानेले नयाँ गठबन्धनमा गृहको दाबी गरिएको र अहिलेसम्म नपाएको सुनिँदै आइएको छ। यही दाबी बलियो बनाउन अफवाह फैलाएका हुन सक्छन्।’

प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २०:३५
Weather Update