
काठमाडौं– मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा सोमबार राति १५ वर्षीया किशोरीको हत्या भएको घटनाको प्रमुख कारण ‘प्रेम सम्बन्ध’ भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ‘प्रेम सम्बन्ध’मा आएको विवादका कारण हत्या भएको खुलेको हो।
पथरीशनिश्चरे–७ लामाटोलस्थित मामाघरमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति १०:३० बजेतिर हत्या भएको थियो। शौचालय जान भनेर निस्किएका बेला उनीमाथि धारिलो हतियार प्रहार भएको थियो।
ज्ञानमतिको गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
खोटाङको एँसेलुखर्क घर भएकी उनी मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन्। स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत् थिइन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) रन्जनकुमार दाहालले प्रारम्भिक अनुसन्धानबाट प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको देखिएको जानकारी दिए। घटनाका सन्दर्भमा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ।
‘घटनाका सन्दर्भमा सुक्ष्म ढंगले अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको देखिएको छ। अनुसन्धान जारी रहेकाले थप विवरण खुल्दै जाला,’ डीएसपी दाहालले भने।
ज्ञानमतिको हत्या घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीको टोलीका साथै जिल्ला प्रहरी कार्यालय मोरङको टोली समेत परिचालन गरिएको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र विशेषज्ञको टोली समेत अनुसन्धानका लागि परिचालित भएको छ।
प्रहरीले हत्या आरोपमा १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी छन्। उनलाई बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका चौधरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले दाबी गरेको छ।