
काठमाडौं– हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंसहित ८ जना विरुद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर गरेको हो।
चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सव–इन्जिनियर अजय भन्ने अज बहादुर बुढाविरुद्ध मुद्दा दायर भएको हो। उनीहरुले आर्थिक वर्ष २०७४/०७५ मा चंखेली गाउँपालिका–३ स्थित मेलादेखि बासलधारासम्मको सडक निर्माण योजनामा अनियमितता गरेको अख्तियारले जनाएको छ। हुँदै नभएको काम पूरा गरेको गलत प्रतिवेदन बुझाइ उनीहरुले १० लाख २९ हजार ३२५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले उल्लेख गरेको छ।
गाउँपालिका र वडा कार्यालयका तत्कालीन अधिकारीहरुको मिलेमत्तोमा सडक निर्माण कार्यको नापजाँच नै नगरी काम नै नभएको योजनाको काम भएको गलत प्राविधिक मूल्याङ्कनसहित प्रतिवेदन तयार पारेर उपभोत्ता समितिलाई रकम भुक्तानी गरेको अख्तियारले जनाएको छ।













