
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडेर नेकपा एमाले लगायत दलसँग गठबन्धन गरेपछि मधेस केन्द्रित दलहरु सरकारमा सहभागिताको विषयलाई लिएर आन्तरिक छलफलमा जुटेका छन्। जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन्।
जनमत पार्टीको सचिवालय बैठक जारी छ भने जसपाको कार्यकारिणी समिति बैठक बुधबार बिहान ८ बजेका बोलाइएको छ। उक्त बैठकले सरकारमा सहभागी मन्त्रीको नाम टुङ्गो लगाउने जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। उनले भने, ‘आज (मंगलबार) दिउँसो ३ बजे गठबन्धनको बैठक छ। भोलि (बुधबार) बिहान ८ बजे जसपा कार्यकारिणी समितिको बैठकले आफ््नातर्फबाट सहभागी हुने मन्त्रीको निर्णय गर्नेछ।’
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालबीच नयाँ सहकार्यका लागि ८ बुँदे समझदारी भएको छ।
जनमत पार्टीले पनि गठबन्धन सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिएकाले नयाँ परिस्थितिमा पार्टीको रणनीति के हुने भन्नेबारे आधिकारिक धारणा तय गर्ने सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताए। ‘पार्टीको सचिवालय बैठक हिजो–आज जारी रहेको। अहिलेको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै, गठबन्धनको निरन्तर र पार्टीको अडानका बारेमा बैठकमा छलफल भइरहेको छ,’ यादवले भने।
जनमत पार्टीका प्रवक्ता यादवले मधेस प्रदेशमा मुख्यमन्त्रीलगायत विषयमा निचोड निकालेर सरकारमा सहभागी हुने/नहुनेबारे पार्टीले बुधबार नै निर्णय गर्ने जानकारी दिए।
यसैबीच, लोसपा पनि नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीको धारणा बनाउन छलफलमा जुटेको छ। मंगलबार पनि बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसहित शीर्षनेताहरुको बैठक बसेर निर्णय लिने सो पार्टीका महासचिव डा सुरेन्द्र यादवले बताए।
यादवका अनुसार मंगलबार बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोसपाका अध्यक्ष ठाकुरले भेटवार्ता गरेका छन्। उनीहरुबीच मुलुकको समसामयिक परिस्थितबारे कुराकानी भएको थियो। ‘प्रधानमन्त्रीले यही गठबन्धन सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्नुभएको छ, हाम्रो अध्यक्षले यस विषयमा पार्टीमा छलफल गरी निर्णय लिने जवाफ दिनुभएको थियो’, अध्यक्ष ठाकुरलाई उद्धृत गरी महासचिव झाले भने।