News Griha :: न्यूजगृह
नयाँ गठबन्धन बनाएपछिको प्रचण्ड अभिव्यक्तिका संकेत र सन्देश

काठमाडौं– नेपाली कांग्रेससँगको सहकार्यका साथ सत्ताको नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरे। 

पटक पटक मन्त्रिमण्डल परिवर्तनको प्रयास गरेका प्रचण्डलाई मन्त्रिमण्डल परिवर्तन गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले साथ नदिएपछि नयाँ समीकरण बनाउन एमालेसँग जोडिएको आरोप प्रचण्डलाई छ। 

तर प्रचण्ड भन्छन्, ‘माओवादी जहिल्यै पनि सिद्धान्त र व्यवहारका दृष्टिले जमेको पोखरीजस्तो होइन। यो त गड्गडाउँदो नदी जस्तै हो। यो निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन। निरन्तर क्रम भंग गर्दै अघि बढ्दै जाने हो।’

Prabhu Bank

सोमबार राष्ट्रिय सभागृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’मा प्रचण्डले माओवादी जमेर बस्ने पोखरी नभइ गडगडाउँदो नदी भएको टिप्पणी गरिरहँदा आम जनताले भने देशमा अस्थिरताको क्रम चलिरहने भयो भन्दै चिन्ता गर्न थालेका छन्। 

त्यसमा पनि प्रचण्डले आफू ज्यूँदो हुँदासम्म उथलपुथल भइरख्ने दाबी गरे। उनले भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ। प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर उम्कन सक्छु।’

नयाँ गठबन्धन बनाएकै दिन प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति फरक फरक कोणबाट टिप्पणी हुने गरेको छ। 

एकथरीले प्रचण्डको नेतृत्वले देशमा स्थिरता दिँदैन भन्ने गरेका छन् भने अर्कोथरीले सत्ता गुम्ला कि भन्ने डरले हड्बडाएका उनले अब प्रधानमन्त्री नगुम्ने भएपछि खुसी व्यक्त गरेको रुपमा लिएका छन्। 

नेकपा माओवादी केन्द्रकै सचिव गणेश साह भने देशको प्रधानमन्त्रीले बोल्ने बेलामा केही संयमता अपनाउनुपर्ने सुझाव दिन्छन्। 

अभिव्यक्तिको पछि नलागी देशमा हुने गतिविधिलाई लिएर मूल्यांकन गर्नुपर्ने साहको भनाइ छ। उनले भने, ‘मैले पनि प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा आएका केही टिप्पणी सुनेको छु। शब्द चयनमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। राजनीतिक अस्थिरताको विषय चाहिँ बोलीमा भन्दा पनि नीतिगत व्यवस्थामा के छ, कसरी अघि बढेको छ भन्ने थाहा पाउनुपर्छ।’

राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा प्रचण्ड ३ भूमिकाको व्यक्ति एकै ठाउँमा उभिँदा फरक अभिव्यक्ति जस्तो लागेको पनि साहको बुझाइ छ। उनले भने, ‘प्रधानमन्त्रीका रुपमा हामीले उहाँका अभिव्यक्तिलाई लियौँ। त्यो स्वभाविक पनि हो। तर त्यो कार्यक्रममा नेकपा माओवादी केन्द्रको अध्यक्ष, समाजवादी मोर्चाको नेतृत्वकर्ता र प्रधानमन्त्रीका रुपमा उहाँ उभिनुभएको थियो। पार्टीका नेता कार्यकर्ताका अघि उहाँले पार्टीगत कुरा गर्दा पनि हामीले प्रधानमन्त्रीको शैलीलाई लिएर कुरा गरेकाले बुझाइमा पनि फरक भएको हुनसक्छ।’

प्रचण्डले पटक–पटक प्रतिक्रियावादीको जालझेलमा नपर्ने, प्रतिक्रियावादीसँग लड्ने अभिव्यक्ति दिएका थिए। नेकपा माओवादीले भने जनयुद्ध तथा जनआन्दोलनका उपलब्धिमाथि धावा बोल्नेलाई नै प्रतिक्रियावादी भन्ने गरेको छ। प्रचण्डले भन्ने गरेको प्रतिक्रियावादी के हो भन्ने प्रश्नमा साहले भने, ‘जनयुद्ध तथा जनआन्दोलनका उपलब्धिमाथि धावा बोल्नेलाई नै नेकपा माओवादी केन्द्रले प्रतिक्रियावादी भन्ने गरेको छ। जनयुद्ध र जनआन्दोलनका उपलब्धि भनेको हाम्रो संविधान नै हो। संविधानमा भएका व्यवस्था विपरीतका आवाज आउन थालेका छन्। यी आवाज उठाउने र आवाज उठाउन सहयोग गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्व नै हामीले भन्ने गरेका प्रतिक्रियावादी, पुनरूत्थानवादी हुन्।’

नेतृत्व र पार्टी नै अवसरका पछि कुद्ने, नीति, सिद्धान्त तथा जनतालाई बिर्सिएको आरोपलाई स्वीकार गर्दै साह यस विषयमा पार्टीभित्र सैद्धान्तिक बहस हुनुपर्ने बताउँछन्। तर नभएको उनको भनाइ छ। उनले भने, ‘पार्टी विचार र राजनीतिबाट बलियो बनाउनुपर्छ भन्ने हो। तर अहिले विचार कम राजनीति बढी भयो। यस विषयमा पार्टीभित्र सैद्धान्तिक छलफल हुनुपर्ने हो। भएको छैन।’

जनयुद्धका पीडितलाई पार्टीले न्याय गर्न भूमिका खेल्नुपर्ने पनि साहले बताए। उनले भने, ‘जनयुद्धमा घाइते, अपाङ्ग भए। उनीहरूको उचित सम्बोधन नभएको भन्ने आवाज शुसुप्त रुपमा उठ्ने गरेको छ। त्यो स्वभाविक पनि हो। त्यसमा पनि जनयुद्धमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरेर सम्मान गरिए पनि दैनिकी चलाउनै नसक्ने गरी अंगभंग भएकाहरूको व्यवस्थापनमा त पार्टी चुकेको नै देखिन्छ। त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने आवाज पार्टीभित्र उठ्ने गरेकै छ।’

प्रचण्ड शक्तिमा रहन जस्तोसुकै सम्झौता गर्न तयार हुने व्यक्ति रहेको बताउँछन् राजनीतिक विश्लेषक मुमाराम खनाल। ‘प्रचण्डलाई विगतदेखि नै हेर्दा शक्तिमा रहन जस्तोसुकै सम्झौता गर्न सक्ने पात्र हुन्। हिजो आज र विगत जहिलेलाई हेरे पनि त्यो पुष्टि हुन्छ। आफू शक्तिमा हुन उनले कुनै वाद र विचारलाई हेर्दैनन्, सुन्दैनन्। सबैसँग सम्झौता गर्छन्। चाहे त्यो दक्षिणपन्थी शक्ति होस, चाहे त्यो वामपन्थी होस्, या लोकतान्त्रिक। जेसँग पनि उनले सम्झौता गर्छन्। गरेका छन्।’

त्यसमा पनि प्रचण्डका काँधमा रहेको सत्य निरुपण तथा मेलमिलापको मुद्धा जसरी पनि टुंग्याउनुपर्ने बाध्यता छ। त्यो बाध्यताका कारण प्रचण्डले जस्तोसुकै भूमिका खेल्न तयार हुने तर्क खनालको छ। उनले भने, ‘द्वन्द्वका समयमा सबैभन्दा उत्पीडनमा परेका माओवादी र कांग्रेस हुन्। यिनीहरू मिलेर सत्य निरुपण तथा मेलमिलापको मुद्धा टुंग्याउन पनि सक्थे। यसमा कम प्रताडित भएको एमालेलाई पनि सहभागी गराउन प्रचण्डले अहिलेको भूमिका खेलेको हुनसक्छ। यसरी प्रचण्डलाई नयाँ समीकरण बनाएर सत्ता टिकाउनमा द्वन्द्वका विषय टुंग्याउन, शक्तिमै रहिरहने नीतिमा प्रचण्ड अडिग रहन, केही भूराजनीतिक कारण र सत्ता जोडघटाउका विषयले गठबन्धन फेरिएको हुनसक्छ।

कम्युनिस्ट एकताको प्रयासमा नेताहरू जुटे पनि नेपालको कम्युनिस्ट इतिहासमा टुटफुटकै घटना धेरै भएकाले अहिले नै विश्लेषण गर्न सक्ने अवस्था नरहने खनाल बताउँछन्। उनले भने, ‘केही समयदेखि नै कार्यदल बनाएर एकताको प्रक्रिया त अघि बढेको छ। तर, वामपन्थी एकताको अर्थमा हिजोको जस्तो उत्साह कार्यकर्तामा अब छैन। पटक–पटक एउटै खेलले नयाँ उत्साह दिँदैन। जुनसुकै बेलामा कम्युनिस्टको जुट–फुट त हुने नै भयो। ००६ सालदेखिकै कम्युनिस्ट गतिविधि हेर्ने हो भने पनि टुट–फुट, विभाजन र एकअर्कालाई आरोप प्रत्यारोपमा बितेको छ।’

सत्तामा टिक्न प्रचण्डले फेरि अर्को गठबन्धन गर्न सक्ने सम्भावना नरहेको खनालको तर्क छ। उनले भने, ‘प्रचण्डले सत्तामा रहनका लागि जे पनि गर्छन्। फेरि अर्को गठबन्धन बनाउन बेर छैन। प्रचण्डलाई राजनीतिमा लाज, शरम, घीन केही पनि छैन।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १८:३५
Weather Update