News Griha :: न्यूजगृह
आजको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने
कीर्तिपुरस्थित टियू क्रिकेट रंगशालामा उपस्थित दर्शक । फाइल तस्बिर ।

काठमाडौं— आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने नेपाल र यूएईबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार उक्त घोषणा गरेको हो ।

आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

नेपाल र यूएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आगामी दिनमा पनि यस्तै खालका आम्दानीको स्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ ।

उनले भने,‘कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्या परेका खण्डमा उक्त कोषबाट खर्च गर्छौं, यसले खेलाडीलाई समस्या परेका बेला सहायता गर्न सहज हुन्छ ।’ नेपाल र यूएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा रु एक सय २० र गेटमा किन्दा रु एक सय ५० पर्छ ।

लिग–२ कै अन्तिम तथा महत्त्वपूर्ण खेलमा नेपालले बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाललाई सोझै विश्वकपको ग्लोबल क्वालिफायर पुग्न उक्त खेल जित्नैपर्ने दबाब छ ।

नेपालका लागि यो खेल महत्त्वपूर्ण रहेको हजारौँ दर्शकको उपस्थिति रहको अनुमान गरिएको छ । अहिलेसम्म १० हजारभन्दा बढी टिकट बिक्री भइसकेको जनाइएको छ ।

लिग टू मा नेपालको ३५ खेलबाट ३८ अंक रहेको छ । आजको खेल जिते नेपाल शीर्ष  ३ मा रहँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०८:२४
Weather Update