News Griha :: न्यूजगृह
पार्टी एकताकै तहसम्म पुग्ला एमाले–माओवादी सहकार्य? 

काठमाडौं– ठ्याक्कै १ वर्षपछि नेकपा एमाले सत्तामा फर्किएको छ। आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई साथ दिने निर्णय गरेपछि एमालेले २०७९ फागुन १७ गते सरकारबाट बाहिरिने निर्णय गरेको थियो। त्यसपछि एमाले केन्द्रदेखि प्रदेशका सरकारबाट बाहिरिने अवस्थामा पुग्यो। 

तर एमालेले १ वर्षको अन्तरालमै पुन: सत्तामा फर्किने मौका पाएको छ। त्यो मौका जुराउने प्रमुख पात्र प्रधानमन्त्री प्रचण्ड नै बनेका छन्। संसद्‌को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँगको सहकार्यमा विराम लगाउँदै प्रचण्डले संसद्‌को दोस्रो ठूलो दल एमाले सहितको सहकार्यलाई अगाडि बढाएका छन्। 

एमाले र माओवादी केन्द्रबीच सरकार सञ्चालनका सन्दर्भमा भद्र सहमति भएको विषय पनि बाहिरिएको छ। जसअनुसार अब डेढ वर्ष हाराहारी माओवादी अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्नेछन्। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति बनेको नेताहरुले बताएका छन्। एमालेका महासचिव शंकर पोखरेल भने दुई पार्टी एमाले र माओवादीले कति कति समय सरकारको नेतृत्व गर्ने भन्नेबारे अझै गृहकार्य भइरहेको बताएका छन्।  ‘हाल प्रचण्डजीकै नेतृत्वमा सरकारमा हामी जाने समझदारी भएको छ। दुई पार्टीले कति कति समय सरकारको नेतृत्व गर्नेबारे गृहकार्य भइरहेको छ,’ पोखरेलको भनाइ छ। 

कहाँसम्म पुग्ला एमाले–माओवादी सहकार्य?
गणतान्त्रिक व्यवस्था सुरु भएपछि एमाले र माओवादीबीच विभिन्न समयमा सत्ता सहकार्य भएको छ। २०७४ सालको चुनावमा गठबन्धन गरेका दुई दलले त्यसपछि पार्टी एकता समेत गरे। केही समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर सरकार सञ्चालन गरे। तर तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते संसद् विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भयो। पछि सर्वोच्च अदालतले पार्टी एकताको प्रक्रिया नमिलेको ठहर गरेपछि वैधानिक रुपमै दुई पार्टी पूर्ववत अवस्थामा फर्किए। 

२०७७ पुसको राजनीतिक घटनाक्रमपछि विभाजित भएका एमाले र माओवादीबीच गत वर्षको चुनावपछि सत्ताका लागि सहकार्य भएको थियो, जुन केही महिना मात्रै चल्यो। आपसी सहकार्य र अविश्वासका साथ नजिक–टाढा हुँदै आएका एमाले र माओवादी पुन: सत्ताका लागि नजिकिएका छन्। तर अहिलेको सहकार्यलाई लिएर फेरि प्रश्न उठेको छ– दुई पार्टीको सहकार्य कहिलेसम्म? 

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य अगाडि बढाएको पहिलो दिन, सोमबार नै प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट एकताका लागि बृहत् पहल अगाडि बढाएको बताएका छन्। झापाको सुखानी काण्डमा ज्यान गुमाएका शहीद परिवारका सदस्यसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले ‘आजैदेखि कम्युनिस्ट एकताको पहल थालेको’ बताएका थिए। ‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ,’ प्रधानमन्त्रीको भनाइ थियो। 

नेकपा एमालेका नेताहरुले भने पार्टी एकताको सम्भावना तत्काल नदेखिएको बताउने गरेका छन्। न्युजगृहको सम्पर्कमा आएका एमालेका केही पदाधिकारीले पार्टी एकता असम्भव नभए पनि तत्कालको घटनाक्रम भने एकताका लागि नभएको प्रतिक्रिया दिए। 

‘अहिलेका लागि जुन गठबन्धन थियो त्यसलाई भत्काउनुपर्ने आवश्यकता थियो। त्यस हिसाबले परिस्थिति अगाडि बढेको हो। पार्टी एकता गर्ने भन्ने कुरा असम्भव होइन। तर अहिले एकताको कुरा भएको छैन,’ नाम उल्लेख नगर्ने सर्तमा एमालेका १ जना पदाधिकारीले भने। 

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली पनि अहिले नै, हतारमा पार्टी एकताको कुरा गर्नु उपयुक्त नहुने बताउँछन्। विग्रिँदो अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्ने तथा धरासायी बनेको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि अहिले सरकारमा बसेर सहकार्य गर्ने समझदारी बनेको उनको भनाइ छ। तर काम गर्दै जाँदा विश्वासको वातावरण बनेको खण्डमा भने एकता असम्भव नभएको उनी बताउँछन्।

‘पार्टी एकताकै कुरा गर्नलाई त अहिले हतारो हुन्छ। अन्तर्राष्ट्रिय सम्बन्ध, देशको अर्थतन्त्र र देशभर नै बढ्दै गएको असन्तुष्टिको स्थितिलाई सुधार गर्ने समझदारीका साथ हामीले अहिले सहकार्य अगाडि बढाएका छौँ,’ ज्ञवाली भन्छन्, ‘काम गर्दै जाँदा विश्वासको वातावरण पनि बन्दै जाला। सकारात्मक वातावरण बन्यो भने एकताको विषयमा पनि छलफल होला। हाम्रो अपेक्षा पनि हो कि सकारात्मक वातावरण बनोस् भन्ने।’

एमालेका अर्का १ जना नेताको भनाइ पनि उस्तै छ। उनले एकताको विषयमा कुरा गर्नु अगाडि पहिलेको एकता तोडिएको विषयबारे पनि समीक्षा हुनुपर्ने बताए। आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेका ती नेताले भने, ‘सैद्धान्तिक र राजनीतिक कार्यदिशाका हिसाबले एमाले र माओवादी अलग पार्टी होइनन्। हामीले विगतमा एकता गरेका पनि हौँ। तर एकता दिगो हुन सकेन। फेरि पनि हतारमा एकताको कुरा गर्दा त्यसले सार्थक रुप लिन सक्दैन। एकताको विषयमा धेरै बहस गर्नुपर्छ। सबैभन्दा पहिले त विगतको एकता के–कसरी सफल हुन सकेन, त्यसको समीक्षा हुन जरुरी छ।’

प्रधानमन्त्रीले गठबन्धन फेरेपछि सत्ताबाट बाहिरिनुपर्ने स्थितिमा पुगेको कांग्रेसका नेताहरुले पनि एमाले र माओवादीबीच एकता हुनसक्ने सम्भावना देखेका छन्। दुवै पार्टीबीच एकता हुनुपर्छ भन्ने मान्यता राख्ने पक्ष प्रभावशाली बनेका कारण एमाले र माओवादीबीच सहकार्यको अवस्था बनेको कांग्रेसका नेताहरुको बुझाइ छ। 

‘कम्युनिस्टहरुबीच एकता हुनुपर्छ भन्ने मत त एमाले, माओवादी दुवै पार्टीमा छ। त्यही मत प्रभावशाली भएका कारण अहिलेको स्थिति बनेको देखिन्छ,’ सभापति देउवानिकट १ जना केन्द्रीय सदस्य भन्छन्।  

माओवादी मत– सबै वाम, एक ठाम
नेपाली कांग्रेससँग सहज महसुस गरेको बताउने गरेका प्रचण्डले यसपटक कांग्रेसलाई पनि ‘सरप्राइज’ दिने गरी सत्ता सहकार्य फेर्ने निर्णय गरे। सभापति शेरबहादुर देउवाको शब्दमा प्रचण्डले कांग्रेसलाई ‘धोका दिएर’ एमालेसँग सहकार्य अगाडि बढाएका छन्। 

पार्टी अध्यक्ष प्रचण्डको निर्णयले माओवादी पार्टी पंतिमा केही उत्साह त बढेको छ। तर गठबन्धन फेरिरहेने प्रवृतिले पार्टीलाई फाइदाभन्दा घाटा धेरै हुने चिन्ता पनि कार्यकर्तामा छ। 

माओवादी केन्द्रको बागमती प्रदेश समितिका १ जना सदस्यले न्युजगृहसँग भने, ‘सत्तामा बसिरहँदासम्म गठबन्धन फेर्ने कुराले फाइदा पुगेको देखिएला। तर कार्यकर्ता तह र आम जनसमुदायको स्तरमा भने यसले कति सकारात्मक प्रभाव पार्छ भन्ने कुरा महत्त्वपूर्ण हो। त्यस हिसाबले अहिलेको घटनाक्रमबाट पार्टीलाई फाइदाभन्दा घाटा पो धेरै हुन्छ कि भन्ने चिन्ता पनि छ।’

माओवादीका केही कार्यकर्ताले भने एमालेसँगको सहकार्यलाई उत्साजनक उपलब्धिको रुपमा लिएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमपछि माओवादी कार्यकर्ताहरुले सामाजिक सञ्जालमा ‘सबै वाम एक ठाम’ भन्दै कम्युनिस्ट एकताको  पक्षमा लेख्न थालेका छन्। 

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल भने एमालेसँगको सत्ता सहकार्यलाई परिस्थितिले सिर्जना गरेको घटनाक्रमका रुपमा अर्थ्याएका छन्। न्युजगृहसँग कुरा गर्दै गजुरेलले कम्युनिस्ट पार्टीहरुबीच एकताको अपरिहार्यता रहेको बताए। तर अहिलेका लागि भने एमाले र माओवादीबीच एकता भइहाल्ने खालको परिस्थिति नबनेको उनको भनाइ छ। 

‘नेपाली कांग्रेसको महासमिति बैठकले गरेको निर्णय, राष्ट्रिय सभाको निर्वाचन र मन्त्रीहरु हेरफेर गर्ने कुराले नयाँ परिस्थिति सिर्जना भयो। कांग्रेसले गठबन्धन नगर्ने भन्ने निर्णय गरेपछि सिर्जना भएको परिस्थितिले एमालेसँग सत्ता सहकार्यको घटनाक्रम बनेको हो,’ गजुरेलले भने, ‘अहिलेलाई हामीले यसलाई सहकार्यको रुपमा लिएका छौं। पार्टी एकताको तहसम्म पुग्नलाई अझै धेरै काम गर्न बाँकी छ।’
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:३८
Weather Update