News Griha :: न्यूजगृह
सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी, अझै डेढ वर्ष प्रचण्डले सरकार चलाउने

काठमाडौं– नेकपा एमाले महासचिव शंकर पोखरेलले हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरी अघि बढ्ने समझदारी भएको बताएका छन्। उनले एमाले र माओवादीबीच सरकारको नेतृत्व गर्नेबारे कार्यकाल कति हुने भन्नेबारे गृहकार्यकै चरणमा रहेको बताए।

‘हाल प्रचण्डजीकै नेतृत्वमा सरकारमा हामी जाने समझदारी भएको छ,’ उनले भने, ‘दुई पार्टीले कतिकति समय सरकारको नेतृत्व गर्नेबारे गृहकार्य भइरहेको छ।’ पोखरेल नयाँ गठबन्धन बनाउने कार्यदलमा थिए। माओवादीका एक नेताका अनुसार एमाले माओवादी गठबन्धन बनेकै दिनदेखि प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीबीच आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने मौखिक समझदारी भएको छ।

माओवादीका एक वरिष्ठ नेताले अबदेखि आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने बताए। ‘नयाँ गठबन्धन बनेको मितिदेखि आधाआधा कार्यकाल दुई पार्टीले सरकारको नेतृत्व हुनेछ,’ ती नेताले भने, ‘०८४ को निर्वाचनसम्म सहकार्य गर्ने समझदारी छ ।’

यसरी हिसाब गर्दा प्रचण्डले अझै करिब डेढ वर्ष सरकारको नेतृत्व गर्ने र बाँकी कार्यकाल ओलीले गर्नेछन्। ०७४ को निर्वाचनपछि बनेको एमाले माओवादी गठबन्धन सरकारमा ओली प्रधानमन्त्री भएका थिए। त्यसपछि जेठमा दुई पार्टीबीच एकता हुँदा ओली र प्रचण्ड पार्टी अध्यक्ष बनेका थिए। ओली र प्रचण्ड करिब साढे तीन वर्षपछि एउटै पार्टीमा रहेका थिए। ०७७ फागुन २३ मा एमाले र माओवादी ब्युँतिएपछि ओली र प्रचण्ड अलग भएका थिए।

गत आम निर्वाचनपछि करिब दुई महिना यी दुई नेताबीच सरकारमा सहकार्य भएको थियो। राष्ट्रपति कसलाई बनाउने भन्नेमा कुरा नमिलेपछि एमाले माओवादी गठबन्धन टुटेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:०६
Weather Update