News Griha :: न्यूजगृह
देउवाले भने– ‘प्रचण्ड धोकेबाज रहेछन्’ 

 काठमाडौं–  २०७९ पुस १० मा बनेको गठबन्धन ब्युँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई सोमबार बिहान बूढानिलकण्ठमा बोलाए। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरे। देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नियत नै धोका दिने रहेको ब्रिफिङ गरे। 

सुरुमा संघीय सरकारमा पार्टीबाट नेतृत्व गरेर गएका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन टुट्नु अघिका घटनाक्रमबारे ब्रिफिङ गरेका थिए। कोशीमा नेकपा एमालेका ३९ सांसदसँग मिलेर कांग्रेसका ८ सांसदले केदार कार्कीलाई मुख्यमन्त्री बनाएको, माघ ११ को राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई हराएको र तीन महिनादेखि संघीय सरकारका मन्त्री फेर्न खोजे पनि देउवा नमानेको र महासमिति बैठकका प्रस्तावमा गठबन्धन नगर्नेजस्ता कुरा राखेकोमा प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए। 

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले सभापति देउवासँग गम्भीरतापूर्वक छलफल नगरेको कांग्रेसको निष्कर्ष छ। मन्त्री फेर्ने विषयमा सभापति देउवा भने लामो समयसम्म तयार देखिएका थिएनन्। तर प्रधानमन्त्री प्रचण्डले दबाब बढाउँदै लगेपछि आइतबार अपराह्न भने सभापति देउवाले मन्त्री हेरफेर गर्न आफू तयार रहेको सन्देश बालुवाटारमा पठाएका थिए। मन्त्री फेर्न र राष्ट्रिय सभा अध्यक्षसमेत छाड्न सभापति देउवा तयार भए पनि प्रधानमन्त्री प्रचण्ड भने नयाँ समीकरण बनाउन जुटेका थिए। आइतबार बेलुकी बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेलगायतसँग प्रधानमन्त्रीले लामो समय छलफल गरी नयाँ समीकरणका साथ अघि बढ्ने समझदारी गरेका थिए। 

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान उपसभापति खड्का र नेता कृष्णप्रसाद सिटौलालाई बालुवाटार बोलाएर नयाँ समीकरण बनाउन लागेको जानकारी दिएका थिए। ‘साढे ७ बजे उपप्रधानमन्त्री खड्का र नेता सिटौलालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीजीले पुराना कुरा निकाल्दै निहुँ खोज्ने कुरा गर्नुभएको रहेछ,’ बैठकमा सहभागि एक पदाधिकारीले भने, ‘कोशीमा कांग्रेसले धोका दियो भन्नेजस्ता सल्टिसकेका विषय प्रधानमन्त्रीले उठाउनु भएको थियो।’ 

सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग आफूले निरन्तर प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरिरहे पनि गठबन्धन नै टुटाउने खालका कुरा यसअघि नगरेको बताए। ‘मलाई दिनमा दुई पटक केपी ओलीले फोन गर्ने गरेका थिए। भेट्न आउँछु भन्थे। मैले गठबन्धनमा आशंका हुन्छ भनेर ओलीलाई भेट्दा पनि भेटिनँ,’ सभापति देउवाले पदाधिकारी बैठकमा भने, ‘सबै कुरा दिँदा पनि प्रचण्डले गठबन्धनलाई अगाडि बढाउन मानेनन्। उनको नियत नै धोका दिने रहेछ।’

प्रधानमन्त्री आलोपालो हुने समझदारीमा प्रधानमन्त्री दाहाल इमानदार नदेखिँदा गठबन्धन टुटेको निष्कर्षमा देउवा पुगेका छन्। ‘प्रचण्डले मन्त्री फेर्न दिएनन् भन्नेजस्ता बहाना बनाएका हुन्, अहिले नतोडे पनि पाँच/छ महिना पछि उनले गठबन्धन तोड्ने नै रहेछन्। आलोपालो प्रधानमन्त्रीमा उनी इमानदार नै रहेनछन्,’ देउवाले भने, ‘प्रचण्ड धोकेबाज रहेछन्।’ 

कांग्रेसभित्र प्रधानमन्त्रीलाई दिएको विश्वास मत फिर्ता लिनेबारे पनि कुराकानी चलेको थियो। तर नयाँ गठबन्धनमा लागेकोले यसतर्फ नलाग्ने सहमति नेताहरूबीच भएको थियो। ‘यो कोर्स भत्काउने सुरुवात प्रचण्डले गरेकोले कोर्स पूरा गर्न दिउँ भन्ने कुरा भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने, मन्त्री फिर्ता बोलाउने कुरा पनि भएको थियो तर त्यता लागिएन,’ एक पदाधिकारीले भने, ‘देश दुनियाँलाई अस्थिरताको कारक प्रचण्ड हो भन्ने पनि थाहा होस् न!’ 

सभापति देउवाले बैठक बिट मार्दै पछिल्ला छ महिनादेखि प्रधानमन्त्री प्रचण्ड ओलीसँग नजिकिएको पाइएको सुनाएका थिए। ‘अहिलेको नयाँ समीकरणचाहिँ छ महिनादेखि ओलीसँग प्रचण्डले भित्रभित्रै गरेको संवादको फल हो,’ देउवाको भनाइ थियो, ‘प्रचण्डको नियत नै धोका दिने हो। अहिले नदिए पछि दिन्थे। यो बहाना टारे अर्को खोज्थे।’ 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:०७
Weather Update