News Griha :: न्यूजगृह
प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा र जसपा सरकारमा सहभागि हुँदै, रवि र उपेन्द्र पनि मन्त्री बन्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्रिमण्डल गठन गर्ने सहमति गरेको छ। 

प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा सोमबार बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनका प्रमुख तीन दलका नेताको उपस्थितिमा यस्तो सहमति बनेको माओवादी केन्द्रका  महेश्वर दाहालले जानकारी दिए । नयाँ मन्त्री मण्डलमा माओवादीको वर्षमान पुनलाई अर्थ मन्त्रालय जिम्मा दिने सहमति भएको  छ। पुन पहिला पनि अर्थ मन्त्री भइसकेका छन्। 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ भने जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवलाई परराष्ट्रको जिम्मेवारी दिइने भएको छ। यसअघि पनि गृह पाएका लामिछाने नागरिकता विवादमा परेपछि मन्त्रीबाट हटेका थिए। 

त्यसैगरी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइने सूत्रले जनाएको छ। उनी यसअघि पनि स्वास्थ्यमन्त्री भइसकेका हुन्।  प्रधानमन्त्री प्रचण्ड र नेता पुन माओवादीबाट बैठकमा सहभागी थिए भने एमालेबाट अध्यक्ष केपी शर्मा ओली, विष्णु पौडेल र शंकर पोखरेल सहभागि थिए। त्यसैगरी रास्वपाका लामिछाने र जसपाका यादव पनि बैठकमा थिए। 

बैठकमा प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धनको सहयात्री दल नेपाली कांग्रेसलाई सरकारबाट हट्न नभन्ने तर उसको धारणा बुझेपछि मात्र थप निर्णय गर्ने भनेर अरु दलका नेतालाई भनेका थिए।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:२७
Weather Update