
काठमाडौं– नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्।
कांग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै नयाँ बन्ने मन्त्रिपरिषद्मा वर्षमान पुनलाई पठाउने निर्णय भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए। अहिले वर्षमान पुनलाई मन्त्रिपरिषद्मा पठाउने र अरूको बारेमा पछि छलफल हुनेछ,’ पौडेलले भने। उनको मन्त्रालय भने टुंगिनसकेको पौडेलले जानकारी दिए। नयाँ बन्ने मन्त्रिपरिषद्मा रास्वपा र जसपाबाट एकएक जना मन्त्री जाने तय भएपनि को जाने भन्ने बारेमा टुंगो लागिसकेको छैन।
यद्यपि स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्। गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे सहमति भएको थियो।
‘प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।
जनता समाजवादी पार्टीभने सरकारमै रहने निश्चित जस्तै छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।