
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै नयाँ सत्ता गठबन्धन घोषणा गर्ने तयारी गरेका छन्।
सोमबार एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको सहमतिबारे जानकारी गराएका हुन्। एमाले सचिवालय बैठक सकेर महासचिव शंकर पोखरेल बालुवाटार जाँदै छन्। एमालेले प्रधानमन्त्रीले चाहे आफूहरू नयाँ ढंगबाट अघि बढ्न तयार रहेको बताएको छ।
यस्तै नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि समेटिने र रास्वपाका तर्फबाट सबै निर्णय लिने जिम्मेवारी पार्टी सभापति रवि लामिछानेलाई दिइएको छ। संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘आजको बैठकमा समसामयिक वस्तुस्थिति बारे सभापतिले जानकारी गराउनुभयो। अहिले परिस्थिति फेरिएको छ। फेरिएको परिस्थितिमा पार्टीले गर्ने सम्पूर्ण निर्णयको अधिकार सभापतिलाई दिइएको छ।’
अब रास्वपा सरकारमा जाने हो भन्ने प्रश्न?मा परियारले भने, ‘पार्टी अनुकुलको परिस्थिति भए पछि हटिन्न। यो अधिकार पनि सभापतिलाई दिइएको छ।’ स्रोतका अनुसार उपप्रधानसहित गृहमन्त्री पाए रवि आफैँ पार्टीको तर्फबाट सरकारमा सहभागि हुनेछन्। यसअघि आइतबार रवि र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा छलफलसमेत भएको थियो।
यता प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आजै बिहान ८ बजे बालुवाटारमा बोलाएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। सत्ता गठबन्धन फेरबदलको संकेत देखिइरहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष र सरकारका मन्त्रीहरू फेरबदल, टीआरसी विधेयक लागयतका विषयमा छलफल गर्न बोलाइएको बैठक स्थगित भएको हो। यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकोटमा बोलाएको आकस्मिक बैठक भरखरै सम्पन्न भएको छ। उसले पनि प्रधानमन्त्रीले चाहे आफूहरू नयाँ ढंगबाट अघि बढ्न तयार रहेको निर्णय गरेको छ।