
काठमाडौं– विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान ८ बजे गठबन्धनको बैठक राखिएको बालुवाटार स्रोतले जानकारी दियो। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, विवादमा परेका मन्त्रीमाथि कारबाही लगायत विषयमा छलफल गर्न प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन्।
राष्ट्रिय सभा अध्यक्षको विषयलाई लिएर सत्ता गठबन्धनमा चिसोपना आइरहेको बेला प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन्।
फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा लागि अहिलेसम्म गठबन्धनले साझा उम्मेदवार तय गर्न सकेको छैन। राष्ट्रिय सभा अध्यक्षमा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र र कांग्रेस दुवैले दाबी गरेका छन्।
राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवार उठाए समर्थन गर्ने एमालेले आश्वासन दिएको छ। राष्ट्रिय सभा अध्यक्षको चुनाव पेचिलो बन्दै गर्दा गठबन्धन बैठक बस्न लागेको हो। यस्तै विवादमा परेका मन्त्री हटाउने बारे समेत प्रधानमन्त्रीले गठबन्धनमा छलफल गर्न लागेका हुन्। बालकुमारी घटनामा छानबिन आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, टेरामक्स घोटालामा अख्तियारले बयान लिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्त्विक रामग्रामको जग्गा निजी कम्पनीलाई भाडामा दिने निर्णय गराउने संस्कृति मन्त्री सुदन किरातीको राजीनामा माग्दै संसद्मा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको छ।
यो विषयमा प्रचण्डले सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै छन्। त्यसअघि प्रचण्डले गठबन्धनमा छलफल गर्न लागेका हुन्। बालकुमारी घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनको सिफारिस गर्न सरकारले कानुन मन्त्री धनराज गुरुङ र ऊर्जामन्त्री शक्ति बस्नेतलाई जिम्मा लगाएको थियो। मन्त्रीद्वयले प्रतिवेदनबारे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ गरेका छन्।
एमालेले प्रकाश ज्वालाको राजीनामालाई बटम लाइन बनाएकोले भोलि प्रचण्डले कुनै निर्णय लिन सक्ने स्रोतले बतायो। बैठकमा सङ्क्रमणकालीन न्याय सम्बन्धी कानूनको विषयमा समेत छलफल हुनेछ। दलहरूबीच सहमति नभएपछि संसदीय समितिले आइतबार यो विषयमा निर्णय गर्न सकेको थिएन।