
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाएर छलफल गरेका छन्।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट अघि बढाउने तयारी भइरहेका बेला देउवाले १० जना मन्त्रीलाई आइतबार साँझ बूढानीलकण्ठ बोलाएका हुन्। पछिल्लो समय सत्ता गठबन्धनमा केही खटपट पनि देखिएको छ। अर्कातिर फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन पनि हुँदैछ।
राष्ट्रिय सभाको अध्यक्ष पद कसले लिने भन्नेमा अझै पनि कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति बनिसकेको छैन। यिनै राजनीतिक घटनाक्रमबीच देउवाले सबै मन्त्रीहरूसँग संवाद गरेका हुन्। यहीबीचमा परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।
मन्त्रीहरूसँगको छलफलपछि देउवाले सोमबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक पनि बोलाएका छन्। उक्त बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ। गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट विजयी राष्ट्रिय सभाका सदस्यहरूको शपथ पनि सोमबार नै हुँदैछ।