काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा मुद्दा चलाइएका ६ जना अध्यागमन अधिकृत धरौटी बुझाएर रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंले माघ २३ गते थुनछेक बहसपछि अध्यागमन अधिकृत नरवीर खड्कासहितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दाका फरार अधिकृतमध्ये ६ जना जनही ७ लाख रुपैयाँ धरौटी बुझाउँदै रिहा भएका हुन्।
यो प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृत ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो थिए। जसमध्ये ६ जनाले फागुन ९ देखि १६ सम्म एक/एकजना गर्दै अदालतमा धरौटी बुझाएर रिहा भएका हुन्।
फरार ७ अध्यागमन अधिकृतमध्ये ताराबहादुर कुँवर मात्रै अदालतमा उपस्थित भएका छैनन्। यो प्रकरणमा पक्राउ परेका अन्य ६ जनासँग पनि अदालतले धरौटी माग गरिएको थियो। यो मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अध्यागमन अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको छ।
मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। उनको साथबाट रामेछापको दोरम्बा गाउँपालिका–७ का ट्राभल एजेन्ट पदम लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद भएको थियो। त्यसपछि उक्त प्रकरणको छानबिनमा अरु पनि तानिएका हुन्।
खड्काकै बयानबाट ८ जना अरु अध्यागमन अधिकृतविरुद्ध पनि मुद्दा चलेको थियो। अनुसन्धानका क्रममा खड्का र लामाको मिलेमतोमा भिजिट भिसामा विदेश उडाइएका दर्जनौँ युवाको सूची प्रहरीले भेट्टाएको छ। अध्यागमन विभागका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको सेटिङ मिलाउँदा तीन करोड बढी घुस लिएको अनुसन्धानबाट खुलासा भएको थियो।













